काठमाडौँ र नेपालगञ्जबाट भागेका कैदी सुर्खेतमा पक्राउ

सुर्खेतः जेनजी आन्दोलनका क्रममा काठमाडौँ डिल्लीबजार कारागार र नेपालगञ्ज बाल सुधार गृहबाट भागेका दुई कैदीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका–३ रुकुमपश्चिम गोतामकोट निवासी कर्तव्य ज्यान मुद्दाको कैदी १७ वर्षीय मनिष विष्ट रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए । उनका अनुसार विष्ट यही भदौ २५ गते नेपालगञ्जस्थित हिर्मुनियामा रहेको बालसुधार गृहबाट फरार रहेका थिए ।

काठमाडौँ डिल्लीबजार कारागार कार्यालयबाट भदौ २४ गते फरार रहेका वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेत बामेखोला निवासी कर्तव्य ज्यान मुद्दाको कैदी ३१ वर्षीय गणेश नेपालीलाई पक्राउ गरिएको प्रवक्ता बुढ्थापाले बताए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी सहायक निरीक्षक किशोर खत्री नेतृत्वको टोलीले दुवैलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला कारागार सुर्खेतमा पठाइएको उनले जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार